मुख्य सामग्रीमा जानुहोस्
General

शिव माध्यमिक विद्यालयमा एसएलसी २०४९ ब्याचद्वारा रू. १ लाख २ हजार ४९ रुपैयाँको अक्षयकोष स्थापना

Nov 04, 2026
शिव माध्यमिक विद्यालयमा एसएलसी २०४९ ब्याचद्वारा रू. १ लाख २ हजार ४९ रुपैयाँको अक्षयकोष स्थापना

कावासोती, २०८३ कार्तिक १८ गते।


शिव माध्यमिक विद्यालय, कावासोती–२, शिवबस्तीमा एसएलसी (SLC) २०४९ ब्याचका पूर्वविद्यार्थीहरूले गरिब तथा जेहेन्दार विद्यार्थीहरूको छात्रवृत्ति व्यवस्थापनका लागि रू. १,०२,०४९ (अक्षरेपि एक लाख दुई हजार उनान्पचास रुपैयाँ मात्र) को अक्षयकोष स्थापना गरी विद्यालयलाई हस्तान्तरण गरेका छन्।

गुणाखर काफ्लेको नेतृत्वमा विद्यालयमा उपस्थित भएका एसएलसी २०४९ ब्याचका पूर्वविद्यार्थीहरूले उक्त रकम विद्यालय परिवारलाई हस्तान्तरण गरेका हुन्।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री श्याम बस्ताकोटीको अध्यक्षतामा विद्यालयको सभाहलमा आयोजित अक्षयकोष हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, एस.एल.सी.(SLC) २०४९ ब्याचका प्रतिनिधिमूलक पूर्वविद्यार्थी तथा शिक्षक–कर्मचारीहरूको विशेष उपस्थिति रहेको थियो।


विद्यालयका प्रधानाध्यापक श्री अर्जुनप्रसाद पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा एसएलसी २०४९ ब्याचका तर्फबाट शिक्षक अभिभावक सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका विद्यार्थी प्रतिनिधि श्री नारायणप्रसाद पौडेल तथा गण्डकी प्रदेश सभाका पूर्वमाननीय सदस्य श्रीमती लक्ष्मी सुनारले आ–आफ्ना मन्तव्य राख्नुभएको थियो।


श्री नरेशमणि भण्डारीको नेतृत्वमा सङ्गठित एसएलसी २०४९ ब्याचका पूर्वविद्यार्थीहरूको समूहले अक्षयकोष स्थापना, रकम सङ्कलन तथा हस्तान्तरण कार्यको नेतृत्व, सहजीकरण र व्यवस्थापनको जिम्मेवारी समूहका कार्यवाहक अध्यक्ष श्री गुणाखर काफ्लेलाई प्रदान गरेको जानकारी कार्यक्रममा गराइएको थियो।


सोही क्रममा कार्यवाहक अध्यक्ष श्री काफ्लेले समूहका विभिन्न कार्यक्रमबाट बचत भएको रकम तथा पूर्वविद्यार्थी साथीहरूबाट सङ्कलित सहयोग रकमबाट कुल रू. १,०२,०४९ को अक्षयकोष स्थापना गरिएको जानकारी गराउनुभयो। उहाँले उक्त कोषको उद्देश्य विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई दीर्घकालसम्म छात्रवृत्ति उपलब्ध गराउनु रहेको बताउनुभयो।

कार्यक्रममा वक्ताहरूले अक्षयकोषको रकमलाई उचित व्यवस्थापन र सदुपयोग गर्दै यसको प्रतिफलबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई नियमित रूपमा छात्रवृत्ति वितरण गर्ने व्यवस्था मिलाउनुपर्ने धारणा राख्नुभयो। साथै, यस किसिमको सामाजिक तथा शैक्षिक योगदानले एसएलसी २०४९ ब्याचका पूर्वविद्यार्थीहरूलाई थप उत्प्रेरित र जागरुक बनाउने विश्वास व्यक्त गर्नुभयो।


विद्यालयका शिक्षक श्री छविलाल अर्यालले सहजीकरण गर्नुभएको कार्यक्रममा प्रधानाध्यापक श्री अर्जुनप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमका सभाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री श्याम बस्ताकोटीले विद्यालयप्रति सद्भाव राखी अक्षयकोष स्थापना गरी हस्तान्तरण गरेकोमा एसएलसी २०४९ ब्याचका सम्पूर्ण पूर्वविद्यार्थीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा समेत विद्यालयको शैक्षिक उन्नयन र विकासमा यस्तै सहयोग, सद्भाव र सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।


पूर्वविद्यार्थीहरूले आफ्नो अध्ययन गरेको विद्यालयप्रति देखाएको यो माया, सद्भाव र सामाजिक उत्तरदायित्व प्रशंसनीय छ। यस अक्षयकोषले आर्थिक अवस्था कमजोर भएका तर अध्ययनमा अब्बल विद्यार्थीहरूको शैक्षिक यात्रामा दीर्घकालीन सहयोग पुर्‍याउने विश्वास विद्यालय परिवारले लिएको छ।


विद्यालय परिवार एसएलसी २०४९ ब्याचका सम्पूर्ण पूर्वविद्यार्थीहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।

तस्बिरहरू

यो समाचार साझा गर्नुहोस्:
Chat with us on WhatsApp